Tuesday, October 26, 2010

'नमुना बस्ती’ शौचालयविहीन

'नमुना बस्ती’ शौचालयविहीन

दैलेख, कार्तिक ८ -
October 26, 2010
जिल्लाका विभिन्न गाउँ बस्तीहरूमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने क्रम बढिरहेका बेला सदरमुकामस्थित नमुना बादी बस्ती भने शौचालयविहीन छ ।

गणेशचोकको छेवैमा रहेका ३६ घर बादी परिवार शौचालय नहुँदा आसपासका खोल्सा र झाडीमा लुकीलुकी दिसापिसाब गर्न बाध्य भएका छन् । बस्ती भएर आवतजावत गर्नेहरूले नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ । खुला स्थानमा दिसापिसाब गरेकाले गणेशचोक आसपासमा दुर्गन्ध फैलिने गरेको स्थानीय दत्तप्रसाद शर्मा बताउँछन् । अघिल्लो वर्ष झाडापखाला लागेर बस्तीका एक सदस्यको मृत्यु र थुपै्र बालबालिका थला परेका थिए । स्थानीय पवा बादीले वनमा चौकीदारले छिर्न नदिने भएकाले खोल्सामा पालो कुर्दाकुर्दा हैरान हुने गरेको बताइन् । आफ्नै मान्छेले नदेखेझैं गरी दिसापिसाब गर्नुपर्छ उनले भनिन् ।

सरकारी तथा गैरसरकारी संघसंस्थाले नमुना विकास गर्ने उद्देश्यले नमुना बस्तीको नामकरण गरे पनि नमुना विकास गर्नलाई कसैले योजना नबनाएको बादी समुदायको गुनासो छ । नमुना बस्ती समूहका अध्यक्ष नरजित बादीले जिस्क्याउनलाई नमुना भन्ने गरेको बताए । 'दस वर्ष बित्न लागिसक्योे लालपुर्जा पाएका छैनौं, विद्यालय, खानेपानी, चर्पी निर्माणमा कसैको चासो छैन,' उनले भने, 'बेकार नमुना बस्ती किन भन्ने ?' पुख्र्यौली पेसाले जीवन गुजारा चलाउन मुस्किल परेपछि २०५७ मा जिल्लाका विभिन्न भेकबाट उनीहरू सदरमुकाम आएका हुन् । स्वर्गीय पत्रकार डेकेन्द्रराज थापा लगायतका अधिकारकर्मीहरूको प्रयासबाट जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गामा बस्न अनुमति दिएपछि भूमिविहीन बादी परिवार बाँसको टहरा बनाएर बसेका हुन् ।

सन् २०१५ सम्म जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यअनुसार जिल्ला स्वास्थ्य तथा सरसफाई समन्वय समितिले दु्रत गतिमा काम गरिरहेको छ । तर सदरमुकामकै बादी बस्तीलाई नमुना बनाउने योजना कागजमै सीमित बनेको छ । बस्ने झुपडीबाहेक तरकारी लगाउने जग्गासमेत नभएका बादी परिवारलाई सरकारले घर विकास योजनाका लागि दिएको प्रतिपरिवार १५ हजार रुपैयाँ वषर्ात छल्न पाल र बंगुर किनेको बस्तीका अगुवा नरजित बादीले जानकारी दिए । ओछ्यानबाट उठ्नेबित्तिकै यातायातका साधनबाट साहूको सामान लोडअनलोड गर्नेदेखि दैलेख बजारमा निम्नस्तरको मजदुरी गरी छाक टार्नमै उनीहरूको दिनचर्या बित्छ । 'मजदुरीको पैसाले बिहान बेलुकाको खाना जुटाउनै मुस्किल हुन्छ,' नरजितले भने ।

'प्रशासन जिविस लगायतका विभिन्न कार्यालयमा बर्सेनि धाएका धाएकै छौं कतैबाट सहानुभूति पाएनौ,' बस्तीका अध्यक्ष नरजितले भने । टहरा बनाउने र तरकारी लगाउने जमिन नभएकाहरूले शौचालय बनाउन मुस्किल हुने बादी परिवारले बताएका छन् । आफैंले भोट दिएर जिताएका सभासद एवं स्थानीय विकास राज्यमन्त्री गणेशबहादुर खड्का वैशाखमा समस्या बुझ्न बस्तीमा पुगेका बेला शौचालय र पालका लागि तत्काल बजेट पठाइदिन उनीहरूले आग्रह गरेका थिए । राज्यमन्त्री खड्काले शौचालय निर्माणका लागि तत्काल एकलाख रकम पठाउने आश्वासन दिएको बताए ।

उसो त स्थानीय सरकार जिविस, नारायण नगरपालिकासँग बादी बस्तीमा शौचालय निर्माण गर्ने कुनै योजना बनेको छैन् । जिविसका योजना अधिकृत पदम सापकोटा शौचालय निर्माण योजना आगामी दिनमा सोच्न सकिने बताउँछन् । पहिलो चरणमा दुई चारवटा भए पनि शौचालय बनाउनुपर्छ सापकोटाले भने । नारायण नगरपालिकाका कार्यकारी अधिकृत ताराप्रसाद भुसालले बजेट आएमा यसै वर्ष नमुना बस्तीमा शौचालय बनाउने योजना प्राथमिकतामा पारिने बताए ।

No comments:

Post a Comment

You can add your voices here....