Sunday, November 28, 2010

पालुङटारको मूत्र चितवनमा मल

पालुङटारको मूत्र चितवनमा मल

पालुङटार -गोरखा, मंसिर १० -

कृष्ण आचार्य
'एक जनाको पिसाबले एक रोपनी जग्गामा मल पुग्छ । एक रोपनी जग्गाको उब्जनीले एक जनालाई वर्षभर खान पुग्छ ।'  यही नारासाथ माओवादीको छैटौं विस्तारित बैठकमा मल प्रयोजनका लागि पाँच दिनमा ४ हजार ६ सय लिटर पिसाब संकलन भइसकेको छ । २० लिटरका दुई सय ३० ग्यालिनमा पिसाब जम्मा भइसकेको द सेवा नेपालले जनाएको छ । संकलनका लागि ३ सय केन्द्र बनाइएका छन् । केन्द्रको पछाडि राखिएका ग्यालिनमा गएर पिसाब जम्मा हुन्छ । 'संकलित पिसाब कुनै जग्गामा प्रयोग गरी देखाउनेछौं,' पिसाब फेरौं एक रुपैयाँ लैजाऔं अभियानका सञ्चालक तथा सेवा नेपालका अध्यक्ष श्रीरेन्द्र पोखरेलले भने ।

उनका अनुसार संकलित पिसाब एक महिनापछि प्रयोग गर्न सकिन्छ । 'रासायनिक मलले एकैपटक हलक्क बढाउँछ तर मानव मूत्रले ढिला गरी शक्ति दिन्छ,' उनले भने । पोखरेलले चितवन, दारेचोक ७ मा द सेवा नेपाल संस्था खोली पिसाब संकलन गर्छन् । उक्त स्थानमा कुनै मानिसले एकपटक पिसाब फेरेमा एक रुपैयाँ दिने गरेका छन् । तीन वर्षअघि सुरु गरिएको अभियान अहिले दारेचोकका ७ सय ३३ घरमा फैलिएको छ ।'

ती घरमा अहिले दिसापिसाब संकलन गर्न सकिने व्यवस्थित इकोसान शौचालय बनाइएको छ । यसरी संकलन गरेको पिसाबको प्रयोगबाट माथिको नारा पुष्टि भइसकेको उनको दाबी छ । 'विस्तारित बैठक हुँदैछ भनेपछि माओवादीसँग प्रस्ताव राखें,' पोखरेलले भने । दैनिक संकलित पिसाब ट्यांकरमा राखेर पोखरेलले दारेचोकस्थित आफ्नै संस्थामा लगेर राख्ने गरेका छन् । जम्मा गरेको पिसाबलाई मलको रूपमा प्रयोग गरेर खेती गर्ने संस्थाको तयारी छ ।

दैनिक रूपमा पिसाब संकलन गरिएकाले वातावरण दुर्गन्ध र मानिसमा रोग लाग्नबाट समेत बचावट भएको स्वास्थ्यकर्मीको भनाइ छ । यदि अहिलेको बैठकमा दैनिक अस्थायी शौचालमा पिसाब गरेको भए दर्जनौं बिरामी पर्न सक्ने बैठकस्थलमा खटिएका मेडिकल सुपरिटेन्डेन्ट गुणराज लोहनीले अनुमान गरे । 'जहाँ पिसाब फेर्‍यो, त्यहीँ रहिरहेको अवस्थामा त्यसको गन्ध र हावाबाट सर्ने कीटाणुबाट धेरै मानिस बिरामी पर्ने थिए,' जिल्ला जनस्वास्थ्य प्रमुख लोहनीले भने, 'पिसाब संकलन गर्दा बैठकस्थल दुर्गन्धित पनि नहुने र खेतीपातीमा प्रयोग गर्न पनि पाइने भएकाले यो प्रविधि दोहोरो फाइदाका रूपमा रहेको पाएका छौं ।'

बैठकमा बनाइएका अस्थायी पिसाब संकलन केन्द्रमा ग्यालिनमात्र द सेवा नेपालले राखेको हो । त्यसको प्यान र शौचालय घेर्ने सामग्रीको व्यवस्था भने माओवादी आफैंले गरेको निर्माण उपसमितिले जनाएको छ ।

Source: Kantipur daily, 27th Nov.2010

No comments:

Post a Comment

You can add your voices here....