Monday, December 13, 2010

स्थानीयस्तरमै खानेपानी आयोजना

स्थानीयस्तरमै खानेपानी आयोजना

स्युचाटार, काठमाडौं, मंसिर २६ -
12th December, 2010 
पानी अभाव टार्न स्युचाटारका बासिन्दाले स्थानीयस्तरमै रकम संकलन गरी खानेपानी आयोजना सञ्चालनको तयारी गरेका छन् । करिब तीस लाखको लागतमा आयोजना सुरु गर्न लागेका हुन् ।

स्युचाटारको २ र ४ नम्बर वडाका ६ सय बासिन्दाले पाँच हजार रुपैयाँका दरले रकम संकलन गरी ३० लाख जोहो गरेका छन् । योजना सफल भए 'दस रुपैयाँ गाग्री' पानी किनेर खाने गाउँका ६ सय परिवार लाभान्वित हुने तारकेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्यामसुन्दर थापाले बताए । थापाका अनुसार सुख्खायाममा यहाँ गाग्रीमा पानी किनेर खाने चलन छ । 'खानेपानी संस्थानको पहुँच नपुगेको र खानेपानीको स्थानीय स्रोत पनि सुक्दै जान थालेपछि आफ्नै पहलमा काम थाल्नुपरेको हो', थापाले भने ।

समितिले डिप बोरिङ गरी पानी निकाल्ने र त्यसलाई प्रशोधन गरी वितरण गर्ने योजना बनाएको छ । संकलित ३० लाख रुपैयाँबाट अहिलेसम्म डिप बोरिङ गरी पानी निकाल्ने काम भएको समितिका उपाध्यक्ष कृष्णहरि खत्रीले बताए । पानी निकाल्ने काममा सफलता पाएपछि प्रशोधन र वितरण प्रणाली निर्माणका लागि स्रोत जुटाउने पहल भइरहेको खत्रीले बताए । 'आफ्नै पहलमा केही काम गरेर देखाऔं र पछि सहयोग खोजौं भन्ने हाम्रो उद्देश्य हो,' उनले भने ।

खानेपानी आयोजनाबाट स्युचाटारको पन्तगाउँ, घ्याम्पेडोल, टप्पाकोट, आगमनटोल र खत्रीटोलका बासिन्दा लाभान्वित हुनेछन् । कलंकीमाथि डाँडामा रहेको बस्तीमा स्रोत सुक्दै गएपछि खानेपानीको अभाव छ । खानेपानी समितिले योजना सम्पन्न भएपछि स्थानीयबाटै महसुल संकलन गरी सेवा सञ्चालन गर्ने लक्ष्य राखेको अध्यक्ष थापाले बताए ।

बोरिङमार्फत् २ सय ५० मिटर गहिराइबाट दैनिक साढे दुई लाख लिटर पानी निकाल्ने समितिले जनाएको छ । सरकारी स्तरबाट सर्वेक्षण गराउँदा ३५ लाख लागत लाग्ने अनुमान भएकोमा स्थानीयस्तरमा करिव २० लाख रुपैयाँमै योजना सम्पन्न भएको अध्यक्ष थापाले बताए ।

No comments:

Post a Comment

You can add your voices here....