नरेन्द्र केसी, (घोराही, दाङ)/ २०६८ कार्तिक २९ गते मंगलवा
सन् २०१४ सम्म दाङलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने उद्देरश्यका साथ जिल्लाका विभिन्न गाविस र वडामा यससम्बन्धी अभियानलाई सामाजिक आन्दोलनका रुपमा अघि बढाइएको छ।
जिल्लाव्यापी अभियानमा राजनीतिक दलका कार्यकर्तादेखि सरकारी कर्मचारी सामाजिक अभियन्ता शिक्षक विद्यार्थी संचारकर्मी साहित्यकारलगायत आमजनताको सक्रिय सहभागिता छ। अभियान शुरु भएयता अहिलेसम्म ढिकपुर सौडियार र लोहारपानी गाविस तथा थुप्रै वडालाई खुला दिसामुक्त घोषणा गरिसकिएको र थप १० वटा गाविस घोषणा गर्ने तयारीमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले जनाएको छ। अभियान शुरु भएयता बितेका चार वर्षमा जिल्लामा शौचालय प्रयोग गर्नेको संख्या ३० प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०६३-०६४ सम्म शौचालय प्रयोग गर्नेको संख्या ३१ दशमलव ५ रहेकोमा २०६४-०६५ मा ३४ दशमलव ४ आव ०६५-०६६ मा ३८ दशमलव ६ ०६६-०६७ मा ४७ दशमलव ४ हुँदै गएको आर्थिक वर्ष ०६७-०६८ मा शौचालय प्रयोग गर्नेको संख्या ह्वात्तै बढेर ६१ प्रतिशत पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख गणेशबहादुर थापाले बताउनुभयो। चालू आर्थिक वर्ष ०६८-०६९ को अन्त्यसम्ममा थप १९ प्रतिशत घरधुरीमा शौचालय निर्माण गरेर शौचालय प्रयोग गर्नेको संख्या ८० प्रतिशत पुर्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो। यही अनुपातमा अभियान अगाडि बढ्दै गएमा सन् २०१४ अघि नै दाङका सम्पूर्ण घरधुरीमा शौचालय बनिसक्ने थापाको विश्वास छ।
अभियान सफल बनाउन राजनीतिक दलहरुले आफ्ना स्थानीय संयन्त्रलाई परिपत्र नै जारी गरेका छन् भने विद्यालयहरुले पनि सेवाक्षेत्रभित्र जनचेतनामूलक कार्यक्रम जारी राखेका छन्। त्यसो त जिल्लामा रहेका ४ सय ३५ सामुदायिक विद्यालयमध्ये ३ सय ८१ विद्यालयमा शौचालय र ३ सय ६५ विद्यालयमा खानेपानीको व्यवस्था रहेको जानकारी दिँदै जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद ढकालले बाँकी विद्यालयमा पनि चाँडै शौचालय र खानेपानीको व्यवस्था गरिने बताउनुभयो। त्यस्तै जिल्लाभरि रहेका महिला सहकारीहरुले पनि खुला दिसामुक्त अभियानमा सहयोग गरिरहेका छन्। शौचालय बनाउन नसक्ने घरलाई बिनाब्याज ऋण प्रदानलगायत विभिन्न सहयोग गरिरहेको महिला तथा बालबालिका कार्यालयकी प्रमुख प्रभा श्रेष्ठले बताउनुभयो।
स्रोत: नेपाल समाचारपत्र
No comments:
Post a Comment
You can add your voices here....