Sunday, August 19, 2018

फोहोरकी ‘करिष्मा’


“ऊ त करिष्मा हो करिष्मा !”

“हैन नेता, नेता !”

पटपटी फुटेका कुर्कुच्चा । त्यसमाथि लपक्कै फोहोर । नाक टट्याउने दुर्गन्ध नै जीवनको प्राणवायु हो । यसैले त धानेको छ– सास !

मध्याह्नको १२ बज्यो । टाउकामाथि आइपुग्यो घाम पनि । गर्मीले तालु बगर तुल्याएको छ । मंसिरमासमा धाँजा फाटेका खेतझैं कलेटी परेका छन् ओठ ।

चर्को धूप ! प्यासले व्याकुल तुल्याएको छ– एक अम्खोरा पानी सासै नफेरी रित्याऊँजस्तो !

टेक्न मिल्ने एक पाइला जमिन छैन । एकछिन उभियो, अमिलो राग कण्ठभित्र पस्छ । पेट उमेठेर उल्टी आउलाजस्तो हुन्छ । रिंगटाले फनफनी घुमाएको छ । कसरी काम गर्न सकेको होला यस्तोमा ! उफ् !! ओठमा बाक्लो लिपिस्टिक । कोष ढाक्ने गाजल । शिरमाथि छड्के क्याप । आँखामाथि गुलाबी ‘आइस्याडो’ । लुगाको बान्की उस्तै । फोहोरको दुर्गन्धले पनि आदिम सौन्दर्यको मानकलाई छाया पारेको छैन ।

“ऊऽऽ गाडी आइसक्यो, कति बस्या होला ! अरूले बटुलिसक्छन्, अनि खान्छौ ठूलो भाग !” उनले श्रीमान्लाई बेस्सरी हकारिन् । निचोरिएको कागतीझैं अनुहार लिएर श्रीमान् काममा हाजिर हुन्छन्, तुरुन्तै । उमेरमै तिलचामल कपाल । काँसझैं छुस्स दाह्री पनि फुलेछन् । घामले डढेर अँगारतुल्य छन् हातपाउ । अनुहार उस्तै श्यामल । पिठ्युँमा उचालिनसक्नुको बोरा बोकेका थिए, श्रीमान्ले ।

No comments:

Post a Comment

You can add your voices here....