Sunday, February 13, 2011

खानेपानी मुहानमाथि मलमूत्र

खानेपानी मुहानमाथि मलमूत्र

 - कृष्ण ज्ञवाली
ललितपुर, माघ २९/Feb. 12, 2011-
सहरमा वितरण हुने खानेपानीको मुहानतिर हेर्न कहिल्यै निस्कनुभएको छ ? सुन्दरीजलपछि राजधानीमा सबैभन्दा बढी खानेपानी संकलन हुने नख्खु खोलाको बाँधमाथिको क्षेत्रमा पुग्नुभयो भने पिउन त के, तपाईंलाई हातखुट्टा धुनसमेत मन लाग्ने छैन ।
राजधानीको कुलेश्वर, कालिमाटी, ताहाचल, त्रिपुरेश्व, चोभार र आसपासका क्षेत्रमा वितरण हुने पानीको मुहान नख्खु खोलाको मुहानमा मलमूत्रसमेत मिसिने गरेको छ । पानी संकलन हुने इन्टेकनजिकै ठूलो बंगुरफार्म छ । फार्मबाट निस्केको मलमूत्र खानपानीको कुलो हुँदै खोलामा मिसाइएको छ ।

बागडोलनजिकै रहेको बाँधबाट संकलित पानी करिब १० हजारभन्दा बढी धारामार्फत् उपभोक्तालाई वितरण गरिने केयुकेल त्रिपुरेश्वर शाखाले जनायो । शाखाका एक कर्मचारीका अनुसार नख्खु खोलाको पानी करिब दुई लाख उपभोक्ताले प्रयोग गर्छन् । नख्खु खोला सुन्दरीजलपछि राजधानीको दोस्रो ठूलो खानेपानीको स्रोत मानिन्छ । कुसुन्ती रानीबुनजिकै बाँधबाट पानी संकलन गरी केयुकेलले सुन्दरीघाटमा रहेको १० लाखभन्दा बढी क्षमताको ट्यांकीमा प्रशोधन गरी वितरण गर्छ ।

खुला पानीको स्रोतमाथि अव्यवस्थित बंगुरफार्म सञ्चालन हुँदासमेत सरोकारवाला निकायहरू बेखबर छन् । लाखौं उपभोक्ताको जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गतिविधि हुँदासमेत काठमाडौं उपत्यका खानेपानी लिमिटेडका जिम्मेवार अधिकारीले मुहानको सरसफाइमा चासो देखाएका छैनन् ।

मुहान संरक्षण र रेखदेख गर्दै आएका काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयुकेएल) का कर्मचारी सुवर्ण सिंहले नख्खुको पानी प्रदूषित हुँदै गएको बताए । 'इन्टेकमा पानी लैजाने कुलोमाथि बंगुरको मलमूत्र फालिएको छ,' उनले भने, 'मैले भनेर कसैले मान्ने होइन, सकेसम्म फोहोर हटाउने र हेरचाह गर्ने गरेको छु ।'

केयुकेएलले नख्खु खोलामा बाँध बनाई दुईवटा पाइपमार्फत इन्टेक -पानी संकलन गर्ने मुहान) सम्म पानी पुर्‍याएको छ । बाँधदेखि इन्टेकसम्मको भागमध्ये करिब सय मिटर भाग खुला कुलो छ । 'यही कुलो हुँदै बंगुरको मलमूत्र खोलामा फालिन्छ,' नुवाईधुवाईका लागि नख्खु खोलामा पुगेकी स्थानीय सरिता महर्जनले भनिन् । फार्म सञ्चालकले मलमूत्र बगाउन कुलोमाथि प्लास्टिकको पाइप राखेका छन् । तर खानेपानीको कुलोनजिकै खुला मलमूत्र बहाउँदा र पाइप व्यवस्थित नहुँदा फोहोर चुहिएर खानेपानीमा मिसिएको छ । बाँकी रहेको मलमूत्र कुलो नाघेर खोलामा पुग्छ ।

खानेपानीको बाँधको मुहानसमेत फोहोर छ । मुहानमा बग्दै आउने प्लास्टिक, चाउचाउको खोल, कार्टुन फाल्दा हैरान भएको कर्मचारी कर्णले बताए । 'मेरो काम मुहानको रेखदेख गर्नेमात्रै हो,' उनले भने, 'जनस्वास्थ्यमा असर पर्ने भएकाले फोहोर पनि सफा गरेको छु, तर एक्लैले हेरचाह गर्न असम्भव छ ।' मुहानमा हिलोको लेदो छ भने जुत्ताका तलुवादेखि मोजासम्म मुहानमाथि भेटिने स्थानीय बताउँछन् । सरसफाइका लागि पानीको अभाव बेहोर्ने वरपरका बासिन्दा मोटरसाइकल नै लिएर नुहाइधुवाईका लागि नख्खु खोला पुग्ने गरेका छन् ।

ठेचोका पूर्वगाविस अध्यक्ष रघुनाथ महर्जनले बस्ती विस्तारसँगै नख्खु खोला दूषित बन्दै गएको बताए । 'क्रसर र टि्रपरले त खोलामात्रै धमिलो पारेका छन्,' उनले भने, 'बस्ती विस्तारका कारण अरूतिरको फोहोरले खोलाको पानी पिउनै नहुने गरी दूषित हुन लाग्यो ।'

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विस्तार हुँदै गएको बस्तीमुनि खानेपानीको बाँध राखेर लाखौं उपभोक्ताको जनस्वास्थ्यमा लापरबाही गरेको उनले बताए । 'अब खानेपानीको मुहानमाथि सार्न ढिलाइ गरिनुहुन्न,' उनले भने ।

बल्खु खानेपानी उपभोक्ता समितिका अध्यक्ष गिरिन्द्रराज अधिकारीले केयुकेएल र केही स्थानीय व्यवसायीको लापरबाहीका कारण बल्खु आसपासका दुई लाख उपभोक्ता प्रदूषित पानी उपभोग गर्न बाध्य भएको बताए । 'बाँधमाथि बंगुरफार्म छ, फोहोर बगेर पानीमा आउँछ,' उनले भने, 'पटक-पटक धर्नामा जाँदासमेत केयुकेएलले मुहान संरक्षणमा चासो देखाएको छैन ।' नख्खुको पानी कीर्तिपुरमा अध्ययनमध्ये आधाजसो विद्यार्थी, बागवानी केन्द्रनजिक रहेका सशस्त्र प्रहरी र चोभारको मोडर्न इङलिस स्कुलले समेत उपभोग गर्छन् । माइक्रो बायोलोजिस्ट -सूक्ष्म जीवविज्ञ) प्राध्यापक डाक्टर शिवकुमार राईले फोहोर र मलमूत्र मिसिने मुहानको पानी पिउन अयोग्य हुने बताए ।

'मलमूत्रमा परजीवी, ब्याक्टोरिया र अन्य रोगका कीटाणु हुने सम्भावना हुन्छ,' उनले भने, 'यस्तो पानी पिउनयोग्य छ भनेर मान्न सकिँदैन ।' तर प्रशोधन गरेर कीटाणु नाश गरी पानी उपभोग गर्न सकिने उनले बताए । 'यस्तो संवेदनशील विषयमा पानी परीक्षण गरी गुणस्तरको सुनिश्चितता गरिनु जरुरी हुन्छ,' उनले भने ।

No comments:

Post a Comment

You can add your voices here....