सिरहा : घर-घरमा जडान भएको धाराबाट खानेपानी आउन छाडेपछि सिरहाको लहान नगरपालिकाका गृहिणीले आन्दोलन सुरु गरेका छन्।
बुधबार आक्रोशित गृहिणीले खानेपानी संस्थान कार्यालय घेराउ गरेका हुन्। समस्या कार्यालय प्रमुखलाई सुनाउन हात–हातमा बाल्टिन लिएर संस्थान पुगेका गृहिणीले संस्थान प्रमुख विनोद मिश्रलाई नभेटेपछि कर्मचारीलाई समस्या सुनाएका छन्। ‘पानी नआए पनि बिल तिर्नुपर्छ, लहान ५ कि अमिना खातुनले भनिन्, ‘पैसा तिर्दा पनि सेवा पाइदैन भने किन पैसा तिर्ने ?’ उनीहरुले बिजुली नहुँदा धारामा अलिअलि पानी आउने तर बिजुली आएपछि बन्द हुने समस्यासमेत सुनाए। आफ्ना समस्या कार्यालयमा पटक–पटक सुनाउन आएपनि कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ।
