Saturday, September 15, 2018

समाजसँग राधाको विद्रोह : रजस्वाला हुँदा आमाको मृत्यु संस्कार

हिन्दु संस्कारअनुसार महिलाहरूका लागि तीजको जति महत्व छ । त्यतिनै महत्व ऋषिपञ्चमीको पनि छ । महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किंवदन्ती प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्महत्याको पाप भोग्नुपर्यो ।

यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्महत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए । त्यसैले यो अशुद्ध हो र यसलाई अलग्गै राखिनु पर्छ भनियो । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानेर गरिएका जति पनि पापहरू छन्, तीबाट मुक्ति हुनका लागि व्रत गर्ने र सप्तऋषिको पूजाअर्चना गर्ने चलन छ । ऋषि पञ्चमीको पूजा गर्दा पढिने पाठमा पनि भनिएको छ, महिनावारी हुँदा भएका छोइछाई अनि पापले गर्दा मोक्ष प्राप्त नहुने र उक्त पाप पखाल्नुपर्ने । अपत्यारिला अनि महिलाविरुद्धमा उल्लेखित यस्ता लाइनहरूले गर्दा यो प्रथा झनै जटिल बन्दै गएको पाइन्छ । पुराणमा लेखेको कुरा महिलाहरूले नमानुन् पनि कसरी जो धर्मसँग यसरी बाँधिएका छन् । मानौँ त आफूविरुद्धको अपराध । 

यस दिन व्रतालु महिलाहरूले नदी, ताल, पोखरीलगायतका जलाशयमा ३ सय ६५ वटा दतिवनले दाँत माझेर, तील, चोखो माटो र गोबर लगाई स्नान गर्ने (विशेष गरेर यौनाङ्ग चोख्याउने) र सप्तऋषिको पूजा गर्ने चलन छ ।  मानव सृष्टि नारीविना सम्भव छैन र सृष्टिको प्रथम र पुण्य गुण नै नारीहरूको महिनावारी हो । रजस्वाला नारीहरूको गर्भाधान गर्नसक्ने क्षमताको प्रतीक नितान्त प्राकृतिक प्रक्रिया हो । जब पाठेघर परिपक्व भएर गर्भाधानका लागि तयार हुन्छ र गर्भाधान गर्न नपाएको खण्डमा पाठेघरको भित्री तह (डिम्बहरू) निष्काशित हुने सरल र सामान्य प्रक्रिया नै रजस्वाला हो । यो कुनै दोष होइन बरु एउटा विशेष क्षमता र सृष्टिको कारक हो । 

सामान्य अर्थमा बुझ्दा सती प्रथाका नाममा जिउँदै चितामा जलेर आफ्नो देह भष्म गर्नुपर्ने बाध्यताबाट नेपाली महिलाहरूले उन्मुक्ति पाए पनि महिला हिंसाको अर्को रूप छाउपडी प्रथा (महिनावारी बार्ने) हो । यही प्रथाको उन्मूलन गर्नकै लागि विगत लामो समयदेखि सक्रिय छिन् सामाजिक अभियान्ता राधा पौडेल ।

[READ MORE...]

No comments:

Post a Comment

You can add your voices here....