Tuesday, March 1, 2011

खानेपानी पाउनै मुस्किल

खानेपानी पाउनै मुस्किल

दीपेन्द्र विष्ट/काठमाडौ, फाल्गुन १५ - बल्खु क्षेत्रमा खानेपानी नआएको १५ दिन भयो । स्थानीय अनिता श्रेष्ठ खान जारको पानी प्रयोग गरिरहेकी छन् । कपडा धुन ट्युबवेलको पानीले सघाएको छ । ज्ञानेश्वर क्षेत्रमा १३ दिनदेखि पानी आएको छैन । आठजना रहेको अञ्जली सुवेदीको घरमा दैनिक चार जार खानेपानी खपत भइरहेको छ । सरसफाइका लागि पानी नपाएको उनले गुनासो गरिन् । पुरानो बानेश्वर क्षेत्रमा पनि सत्र दिनदेखि पानी आएको छैन । स्थानीय सरु श्रेष्ठ बिहान ३ बजे ढुंगेधारामा पालो कुर्न जान्छिन् । पाँच दिन बिराएर पानी आउने धारा अहिले सुख्खाप्रायः छ । 'ढुंगेधारामा पनि भीडभाड हुन्छ,' उनले भनिन्, 'बेलैमा नगए पालो पाइन्न ।' शंखमूल क्षेत्रमा २० दिनदेखि पानी आएको छैन । 

यी घटना उपत्यकाको खानेपानी समस्याका उदाहरण हुन् । कि धारामा पानी आउँदैन, आउने ठाउँमा कहिले आउँछ ठेगान छैन । धारामा मात्रै भर पर्नेलाई यसले समस्यामा पारेको छ । ढुंगेधाराले केही राहत दिए पनि केही वर्षदेखि यी स्रोतहरू पनि सुक्दै गएका छन् । दिन प्रतिदिन पानीका स्रोतहरू सुक्दै गएपछि राजधानीवासीको जीवन थप कष्टकर बन्दै गएको बल्खुका ७० वषर्ीय निरञ्जन श्रेष्ठ बताउँछन् ।


उपत्यका खानेपानी लिमिटेडले विभिन्न क्षेत्र विभाजन गरी अहिले तीन, पाँच र सात दिनको फरकमा पानी वितरण गर्दै आएको छ । लोडसेडिङले गर्दा पनि पूरा समय पानी आपूर्ति हुन सकेको छैन । उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता सुरेशप्रसाद आचार्यले पुरानो वितरण प्रणाली र भौगोलिक विभाजनको कठिनाइले एउटै ठाउँमा पनि समानरूपले पानी वितरण गर्न नसकिएको बताए । गर्मी बढेपछि पानी उत्पादनको मात्रामा कमी आउने भन्दै उनले उपभोक्ता समस्यालाई समाधान गर्न बढी अभाव भएका ठाउँमा केही वैकल्पिक व्यवस्था गर्ने बताए । उपत्यकामा प्रत्येक वर्ष पाँचदेखि छ हजार नयाँ धाराहरू थपिन्छन् ।


वषर्ाद्मा दैनिक सोह्र करोड लिटर पानी वितरण गर्दै आएको  लिमिटेडले फागुनको सुरुवातसँगै बाह्र करोडमा झारिसकेको छ । वैशाख-जेठमा भूमिगत पानीका स्रोतबाटसमेत पानी उत्पादनमा कमी आउने भन्दै आचार्यले दैनिक नौ करोड लिटर पुग्ने बताए । 'समाधान गर्न गाह्रो छ, गर्मी सुरु भएपछि पानी समानरूपमा वितरण कसरी गर्ने भन्ने विषयमा चिन्ता बढेर आउँछ,' उनले भने ।


आयोजना कार्यान्वयन निर्देशनालयका उपनिर्देशक घनश्याम भट्टराईले पुरानो पानी वितरण प्रणालीले गर्दा समस्या आएको बताउँदै सुधारका लागि कार्य भइरहेको बताए । उनका अनुसार डेढ वर्षभित्र निश्चित क्षेत्रको पानी वितरण प्रणालीमा सुधार ल्याइनेछ ।  नयाँ बानेश्वर, शंखमूल र ललितपुरको कुसुन्ती क्षेत्रमा काम भइरहेको उनले बताए । वैज्ञानिक प्रणाली नअपनाएसम्म उपत्यकामा जतिसुकै पानीको आपूर्ति गरे पनि समानरूपमा वितरण गर्न नसकिने उनको भनाइ छ ।


'काम भइरहेको छ, सुधार हुन्छ,' उनले भने, 'मेलम्चीको पानी आउनुभन्दा अघि सबै नयाँ पाइप लाइनमा सुधार गरिसक्नुपर्छ, त्यसपछि उपभोक्तलाई राहत मिल्छ ।'

No comments:

Post a Comment

You can add your voices here....