Wednesday, September 14, 2011

त्रिशूली मिनरल वाटर र सिद्धार्थ बेकरीमा सिल

काठमाडौ, भाद्र २७ -
स्वास्थ्य जोखिममा पार्ने गरी दूषित उत्पादन गरेको भन्दै सरकारले मंगलबार मनमैजुस्थित त्रिशूली मिनरल वाटर र नयाँ बजारस्थित सिद्धार्थ बेकरीमा सिल गरेको छ ।

वाणिज्य विभाग, काठमाडौं प्रशासन कार्यालय, उपभोक्ता मञ्च नेपाल र उपभोक्ता अधिकार अनुसन्धान मञ्चको संयुक्त टोलीले अनुगमन क्रममा मापदण्डविपरीत उत्पादन फेला पारेको हो ।

'त्रिशूली मिनरल वाटर एन्ड वेभरेज' मा दूषित पानी फेला परेको उजुरीका आधारमा मंगलबार छापा मारिएको थियो । अनुगमन टोली मध्याह्न मनमैजु-२ स्थित लोकतान्त्रिक चोक पुग्दा आसपासका केही पसले सटर बन्द गर्न हतारिएका थिए । टोली चोकबाट तलतिर लाग्नेबित्तिकै एक कामदार दौडेर त्रिशूली पानी उद्योगमा छिरेका थिए । लगत्तै छिरेको टोली पानीमा जुत्ता पखालेर छिर्नुपर्ने नियमअनुसार पानी पसेको थियो । त्यहाँ केही कामदार बजारबाट आएको जार माझ्दै थिए भने केही जारमा पानी भरिरहेका थिए ।

सञ्चालक होम बोगटीले 'नियम पुर्‍याएको' भन्दै उद्योगबारे टोलीलाई जानकारी दिए । तर टोलीले जार र बोतल निरीक्षण गर्दा मंगलबार उत्पादन भरिँदै गरेको पानीको बोतलमा जुलाई २०११ र म्याद सकिने मिति डिसेम्बर लेखिएको थियो ।

उद्योगमा नापतौल विभागको प्रमाणपत्र, प्यान नम्बर, लेबलमा ब्याच नम्बरसमेत भेटिएन । ल्याब टेक्निसियन र ल्याब पनि उद्योगमा राखिएको थिएन । बोरिङ गरेर निकालेको पानी शुद्धीकरण गर्ने रड पनि फलामको खिया लागेको थियो । पानी छान्न प्रयोग गरिएका प्लास्टिकका बाटाहरू निकै फोहोर थिए भने तेस्रो तलाको बाटा त ह्वाङ-ह्वाङती प्वाल परेकाले पानी बिनाप्रशोधन सीधै दोस्रो बाटामा झरिरहेको थियो । मापदण्डविपरीत उद्योग सञ्चालन भएकाले एक साताका लागि सुधारको मौका दिएर उद्योग सिल गरिएको वाणिज्य विभागका उपसचिव टीकाप्रसाद भण्डारीले बताए ।

'सञ्चालकले स्पष्टीकरणसमेत पेस गरी सुधार गराएमा पुनः अनुगमन गरेर मात्रै उद्योग सञ्चालन गर्न अनुमति दिन्छौं,' उनले भने, 'परीक्षणका लागि नमुना लिएका छौं, खान नहुने देखिए सञ्चालकलाई कानुनी कारबाही पनि हुनेछ ।'

अनुगमन भइरहँदा मनमैजुकै कृष्णप्रसाद ढुंगानाले बजारमा किनेको त्रिशूली ब्रान्डकै पानीमा बोतलभित्र 'पराल' जस्तो वस्तु देखिएपछि सञ्चारकर्मीसमेत चकित भएका थिए । उद्योग सञ्चालक बोगटीले 'कर्मचारीको कमजोरीले यस्तो भएको' भन्दै गल्ती स्विकारे । उनी र उनका परिवारका सदस्य भन्दै थिए, 'मलाई शत्रु लागेर यस्तो भयो ।'

यसैगरी टोलीले काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित 'सद्धार्थ बेकरी एन्ड कन्फेक्सनरी' मा पनि अनुगमन गरी सिल गरेको छ । बेकरीको किचन फोहर, नापतौल सामग्रीमा गडबडी, उद्योगसम्बन्धी कागजपत्र र खाद्य अनुज्ञापत्र नभएकाले बन्द गरियो ।  ओभनबाट निकालिएका मिठाईहरू खुल्ला छाडिएको अवस्थामा थियो । ती मिठाईमा झिङ्गा र भुसुना भन्किएका थिए ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाका अनुसार कोठाको र्‍याकमा केक र अन्य खानेकुरामा प्रयोग गरिने रसायनिक पदार्थ म्याद गुजि्रएको र फोहोर बट्टामा राखेको पाइएको थियो । मिठाई बनाउने र प्याकिङ गर्ने कोठाअगाडि शौचालय र पानी तान्ने ट्युबेल थियो । खुल्ला ठाउँमा समेत हिलो जमेर दुर्गन्धित थियो । केक र क्रिम बनाउने कोठाको टेबलमुनि बजारबाट फिर्ता आएको केक पनि भेटिए । 'बजारबाट फर्काएको सामान पनि मिसाएर बेकरीको सामान बनाउने गरेको पायौं,' उपभोक्ता मञ्च नेपालका प्रतिनिधि रोशन पोखरेलले भने । त्यस्तै तराजु पनि सन्तुलनमा थिएन । टोली बेकरी उद्योगमा पुग्दा सञ्चालक गणेश पाण्डेकी श्रीमती मात्रै थिइन् । उनले श्रीमान् बजार गएको भन्दै दर्तासम्बन्धी कागजपत्रबारे थाहा नभएको बताइन् । केही समयमा सञ्चालक पाण्डे आएपछि प्यान र घरेलुमा दर्ता भएको कागजपत्र देखाए पनि खाद्य अनुज्ञापत्र नभएपछि टोलीले सिल गर्ने निर्णय गर्‍यो । बेकरीका खानेकुरा बनाउन प्रयोग गरिने सामान ठीक छ/छैन खाद्य अनुज्ञापत्र नभएसम्म योग्य भए/नभएको थाहा हुँदैन ।

गणेशले आफ्नो गल्ती भएकालेे एक पटकलाई सुधार्ने मौका दिन आग्रह गरेका थिए । ताला लगाउने निर्णय गर्न लागेका विभागका उपसचिव टीकाप्रसाद भण्डारीलाई गणेशले हात समाउनसमेत भ्याए । धेरै पटक हात जोडे । निर्णय गर्न अवरोध गरेपछि भण्डारीले सटरको छेउकै कुर्सीमा बसेर ताला लगाउन भने । त्यसपछि गणेशकी श्रीमती 'अब हामी के खाने ? बनाएको सामान सबै बिग्रने भयो' भन्दै रोइरहेकी थिइन् ।

टोलीले कमलपोखरीस्थित राजन ग्यास स्टोरमा अनुगमन गर्दा  कालाबजारी गरेको भेटियो । सिल तोडेर ग्यास बिक्री गर्ने गरेको उजुरी आधामा टोलीले अनुगमन गरेको थियो । टोलीलाई समेत सञ्चालकले झूटो विवरण बताएका थिए । विभिन्न उद्योगका ३ सय ५० भन्दा बढी सिलिन्डर स्टोरमा भए पनि टोलीलाई उनले सुरुमा ३ वटा मात्रै भरिएको सिलिन्डर भएको बताएका थिए । अनुगमनपछि ७० भन्दा बढी सिलिन्डर अन्डर ग्राउन्डको दुईवटा कोठामा ग्यास भरेर राखेको भेटिएको थियो । उनले सुरुमा एउटा मात्रै कोठामा ग्यास रहेको बताएको थिए । राजन ग्यास डिपोले एचपी, सिद्धार्थ, सुगम, लुम्बिनी, हिमाल, कोसी, भानु, नेपाल ग्यासको डिपो राखेको पाए पनि डिलर राख्ने स्वीकृति भने देखाएन ।

पसलमा मूल्यसूची, व्यवसाय दर्ता, नापतौल प्रमाणपत्र नभएको र ग्यास सिलिन्डर संख्यासमेत झूटो बताएकाले स्पष्टीकरणसहित तीन दिनभित्र कागजपत्र पेस गर्न टोलीले समय दिएको छ ।

'झूटो विवरण दिनेले उपभोक्तालाई ग्यास नदिएको पनि हुन सक्छ,' विभागका उपसचिव भण्डारीले भने, 'पसल सञ्चालकले धेरै गल्ती गरे पनि पसलमा सिल लगाउँदा चाडपर्वका बेला उपभोक्तालाई समस्या पर्न सक्छ, त्यसैले स्पष्टीकरण सोधेका छांै, चित्तनबुझे कालाबजारीअन्तर्गत प्रशासनमा मुद्दा पेस गर्छौं ।'

यसैगरी प्रशासनले बबरमहलको एक घरमा छापा मारेर बीएमसी मसलाको 'नक्कली मसला' बरामद गरेको छ । टोलीले वीर अस्पताल असपासको औषधि पसलमा पनि अनुगमन गरे पनि केही फेला पारेन ।



No comments:

Post a Comment

You can add your voices here....